
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत उद्धवप्रसाद थपलियाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । जागिरे जीवनको अवधिमा हैसियतभन्दा बढी सम्पत्ति आर्जन गरेको पाइएपछि उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको हो ।
आयोगले बिहीबार अवकाशप्राप्त शाखा अधिकृत थपलियाविरुद्ध १ करोड ६४ लाख ८९ हजार सात सय रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै सोही रकम बराबरको बिगो मागदावीसहित विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
आयोगका अनुसार विसं २०४० फागुन ६ गतेदेखि २०७५ चैत ३० गतेसम्म पदमा रहँदा थपलियाले रु एक करोड दुई लाख ८२ हजार २५८ बराबरको वैध आय गरेको देखिन्छ । उनले रु दुई करोड ६७ लाख ७१ हजार ९५८ बराबरको खर्च तथा लगानी गरेको पुष्टि भएको छ ।
सार्वजनिक सेवामा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्यमार्फत गैरकानूनी आर्जन गरेको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ । उनले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती मुना पन्तको नाममा भएका घरजग्गा र बैंक खातामा जम्मा गरेको पाइएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार आयोगले स्रोत नखुलेको सम्पत्ति बराबरको बिगो माग दाबी गर्दै थपलिया र उनका श्रीमती मुना पन्त थपलिया विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।