
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिको हैसियतमा सुविधावापत पाएको २० लाख रुपैयाँभन्दा बढी रकम सामाजिक काममा खर्च गरेका छन् ।
विपन्नको शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, खेलकुद, संस्कृति संरक्षण, धार्मिकस्थलको विकास र बजेट अभावले अधुरा बनेका विकास आयोजनालाई पूर्णता दिन सुविधावापत पाएको रकम खर्चिएका हुन् ।
सेवा सुविधालाई छुट्टै बैंक खातामा जम्मा गरेर करिब पाँच वर्षको अवधिमा २० लाख सामाजिक क्षेत्रमा खर्च गरेको भारतीय सेनाका सेवानिबृत्त क्याप्टेनसमेत रहेका अध्यक्ष पुनले बताए ।
“पेन्सनले मेरो खर्च पुग्छ, परिवारका सदस्य आफैँ आत्मनिर्भर छन्”, उनले भने, “जनतासँग गरेको प्रतिबद्धताअनुसार सेवा सुविधालाई सामाजिक क्षेत्रमा लगाएको हुँ ।”
गण्डकी प्रदेश सरकारले गाउँपालिकाका अध्यक्षलाई विभिन्न शीर्षकमा मासिक रु ४८ हजार सुविधा तोकेको छ । पोखराको सुन्दरीडाँडास्थित शिवमन्दिरमा नियमित पूजा सञ्चालनका लागि रु पाँच लाखको अक्षयकोष स्थापना गरेर एक पुजारीलाई तलबको व्यवस्था गरेका अध्यक्ष पुनले नारच्याङ आधारभूत विद्यालयमा एक लाखको अक्षयकोष स्थापना गरेका छन् । रासस