आयोगले बन्दसूचीबाट हटायो ५४८ जनाको नाम

-


     मर्दी न्युज    
     कार्तिक ८ गते २०७९ मा प्रकाशित


काठमाडौँ । निर्वाचन आयोगले आगामी संसदीय चुनावका लागि राजनीतिक दलहरूले बुझाएको समानुपातिक बन्दसूचीबाट ५४८ जनाको नाम हटाएको छ । 

आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरूले पेस गरेको बन्दसूचीमा जरिवाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उम्मेदवारी परेका लगायतका कारणबाट अयोग्य भएका ५४८ जनाको नाम बन्दसूचीबाट हटाउने निर्णय गरेको हो । 

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्दसूचीमा नाम समावेश भएका ६४५७ जना उम्मेदवारहरूमध्ये निर्वाचन कानून तथा निर्वाचन आचारसंहिता बमोजिम तोकिएको जरिवाना नबुझाउने ३६९ जना, उम्मेदवारहरूका सम्बन्धमा परेको दावी विरोध उपर जाँचबुझबाट गरी ५४८ जना र समानुपातिक निर्वाचन प्रणालीतर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालयको निर्णयबाट लाभको पदमा बहाल रहेका एक जना र कालो सुचीमा रहेका एक जना गरी कूल ५५० जना व्यक्तिको नाम सम्बन्धित दलले पेश गरेको बन्दसूचीबाट हटाउने निर्णय गरेको छ, उपसचिव एवम् प्रवक्ता कमल भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्यका लागि दलहरूले पेश गरेको बन्दसूचीमा समावेश भएका उम्मेदवारहरूको सम्बन्धमा जाँचबुझ गर्दा दावी विरोधमा उजुरी नपरेका कतिपय व्यक्तिहरूले स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा उम्मेदवार भई निर्वाचन खर्चको विवरण पेश नगरेको पाइएको र २०७९ कात्तिक ५ गते भित्र तोकिएको जरिवाना बुझाउने मौका प्रदान भएकोमा सो अवधिभित्र समेत जरिवाना नबुझाउने ३६९ जनाको नाम सम्वन्धित दलले पेश गरेको बन्दसूचीबाट हटाउने निर्णय भएको उल्लेख छ ।

यस्तै बन्दसूचीमा समावेश रहेका मध्ये २०७९ असोज २ गतेसम्म २५ वर्ष उमेर नपुगेका प्रतिनिधि सभा सदस्यतर्फ २३ जना र प्रदेश सभा सदस्यतर्फ २९ जना गरी ५२ जना, दोहोरो उम्मेदवारी परेका ६६ जना, महिला पुरूषको विवरण फरक परेका ३७ जना, कुनै गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम नभएका प्रतिनिधिसभातर्फका ६ जना, सम्वन्धित प्रदेशभित्रको मतदाता नामावलीमा नाम नभएका प्रदेशसभातर्फका १२ जना र आवश्यक कागज प्रमाण पेश नभएका ६ जनाको नाम पनि सम्बन्धित दलले पेश गरेको बन्दसूचीबाट हटाउने निर्णय भएको आयोगले जनाएको छ ।