
पोखरा । साहसिक पर्यटनका लागि पोखराको पर्याय प्याराग्लाइडिङ आन्तरिक विवादका कारण बन्द भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले तत्कालका लागि उडान बन्द गरिदिएको हो ।
नेपाल हवाई खेलकुद संस्था (ना) पोखराले आफू खुशी दर तोकेर बुकिङ गर्न पाउने गरी खुला गरिदिएपछि विवाद उत्पन्न भएको छ । बुकिङ खुला गर्ने र नगर्ने पक्षमा प्याराग्लाइडिङ कम्पनीहरु विभाजित छन् । सोही विवादका कारण देखाएर पाइलटले प्याराग्लाइडिङ नउडाउने निर्णय गरेका छन् । शुक्रबारदेखि पोखराको आकासमा प्याराग्लाइडिङ ठप्प छ ।
पोखराको आकाशमा दैनिक सरदर डेढ सय उडान गर्ने पाइलटले अचेल उडान भरेका छैनन् । नेपाल हवाई खेलकुद संस्था (ना) पोखराले पालो प्रणाली खारेजको निर्णय जो गरेको थियो, त्यसकै विरुद्ध पाइलटले उडान ठप्प पारेका हुन् ।
खुला बजार अर्थनीतिमा वस्तु तथा सेवाको छनोट र मूल्यको प्रतिस्पर्धाको अवसर हुन्छ । त्यस्तै अवसर सिर्जना गर्ने गरी हवाई खेलकुद संस्था नाले कम्पनीहरुले आफैं उडाउन पाउने र दर पनि आफ्नै हिसाबले तोक्न पाउने निर्णय बुधबार गरेको थियो । तर उपभोक्ता अर्थात पाहुनाहरुका लागि सुविधा हुने त्यस्तो निर्णयकै विरुद्ध आन्दोलन उत्पन्न भई असमझादारी सिर्जना भएपछि पाइलट र कम्पनीहरु सहमति नहुँदासम्म उडान नगर्न नागरिक उड्डयन प्राधिकरणले पत्राचार गरेको छ ।

