२५ औँ पोखरा सडक महोत्सव सुरु

-


     मर्दी न्युज    
     पुस १२ गते २०८० मा प्रकाशित


पोखरा । ‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नारासहित पोखरामा २५ औँ पोखरा सडक महोत्सव सुरु भएको छ। विगतका वर्षहरुमा जस्तै पोखराको हल्लन चोकबाट विभिन्न सांस्कृतिक झाँकी, परम्परागत पन्चे बाजासहित महोत्सव सुरु भएको हो।

रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको आयोजनामा पोखरा सडक महोत्सवको २५ औं श्रृंखलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । अङ्ग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा हरेक वर्ष आयोजना गरिने महोत्सव यसवर्ष पुस १६ गतेसम्म चल्नेछ ।

महोत्सवमा मुख्य आर्कषकका रुपमा विभिन्न जातजातिको सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशनसँगै राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, सचेतना मुलक सडक नाटक, सेल्फी फोटो बुथ, झाँकी प्रदर्शन, रात्रीकालीन कन्सर्ट, बोट रेस, वेटर रेस, टग अफ वार, भलिबल प्रतियोगिता आयोजना गरेको रेवान पोखरा अध्यक्ष नरेशबहादुर भट्टराईले जानकारी दिए ।

पोखराको पर्यटन विकास, प्रवद्र्धन र परिवर्तित समयसँग पोखराको पर्यटनमा देखिएका अवसर तथा चुनौतीहरुको विषयमा टक सो कार्यक्रम, स्वदेशी उत्पादित हस्तकला, चित्रकला, मुर्तिकला तथा कृषि, वनस्पती लगायतका कृषि उपजहरुलाई प्राथमिकताका साथ प्रदर्शनीको व्यवस्था गरिएको रेवानका प्रथम उपाध्यक्ष एवम महोत्सवका संयोजक विश्वराज पौडेलले बताए ।

महोत्सवमा बालबालिकाहरुका लागि चित्रकला र साहसिक खेलकुदहरुको वृत्त चित्र प्रर्दशनका साथै पर्यटकीय गन्तव्यको प्रवद्र्धन महोत्सव क्षेत्रभित्र विभिन्न तरिकाका सजावट गरिएको छ । करिब पाँच लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको सडक महोत्सवमा ३० प्रकारका स्थानीय खाना रहने छन् ।