
पोखरा । हिमालय एयरलाइन्सले पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न इच्छा देखाएको छ । हिमालय एयरलाइन्सका अध्यक्ष झाओ एनयोङले मंगलबार पोखरामा पर्यटनकर्मीहरु माझ उक्त इच्छा प्रकट गरेका हुन् ।
पोखरा पर्यटन परिषदको आयोजनामा मंगलबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, हिमालय एयर लायन्सका अध्यक्ष्य झाओ एनयोंग र पोखराका पर्यटन व्यवसायीबीच अन्तरक्रियामा सो इच्छा प्रकट गरेका हुन् ।
हिमालय एयर लाइन्सका अध्यक्ष्य झाओ एनयोंग ले पोखराबाट अन्तर्रास्ट्रिय उडान गर्न चिनिया पक्ष, नेपाली पक्ष र एयर लायन्सले संयुक्त प्रयास गर्नुपर्ने बताए । हिमालय एयर लायन्सलाइ नेपालमा आन्तरिक उडान गर्ने अनुमति नभएकाले पोखराबाट काठमाडौं खाली जाँदा थप खर्च बेहोर्नुपर्ने उनको भनाइ थियो । यदि सबैतिरबाट सहयोग प्राप्त हुने हो भने हिमालयन एयरलायन्स पोखराबाट नियमित चीन लगायतका अन्य गन्तव्यसम्म पनि उडान गर्न इच्छुक र तयार रहेको बताए ।
उनले चीनबाट वार्षिक रुपमा १० करोड पर्यटकले अरु देशमा भ्रमण गर्ने गरेको र त्यसको १५ मात्र नेपालमा आए पनि १० लाख हुने र त्यो सम्भव भएको उनको भनाइ थियो । पोखराको प्राकृतिक सुन्दरता, ट्रेकिङ, प्याराग्लाइडिङ लगायतले चिनिया पर्यटकलाई आकर्षित गरेको उनले बताए । नेपाल सरकारले विमानस्थलमा लाग्ने विभिन्न शुल्कमा छुट दिएर एयरलायन्स कम्पनीहरुलाई उडानका लागि आकर्षित गर्नुपर्ने र श्रम, भिसा लगायतका कुरामा सहज बनाउनुपर्ने अध्यक्ष झाओको सुझाव थियो ।
उक्त अवसरमा राट्रष्यि सभा अध्यक्ष्य गणेशप्रसाद तिमिल्सिनाले यो विमानस्थलबाट नियमित उडान गर्न आफूले प्रयास गरिरहेको बताए । आफू कार्यकारी पदमा नभएकाले निर्णायक कामका लागि सम्बन्धित मन्त्री वा प्रधानमन्त्रीले कुटनीतिक प्रयास गर्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘गण्डकी प्रदेशवासीले निर्माणका क्रममा देखाएको जस्तै सर्वपक्षीय एकता र सक्रियता प्रदर्शन गरेर सरकारलाई यस विषयमा गम्भीर हुन आग्रह गर्नुपर्छ ।’
पोखरा पर्यटन परिषद्का अध्यक्ष्य पोमनारायण श्रेष्ठले राष्ट्रिय सभाका अध्यक्ष्य र हिमालय एयर लायन्सलाई सकारात्मक प्रयासका लागि धन्यवाद दिए । पोखरा र गण्डकी प्रदेशको तर्फबाट जस्तोसुकै पहल र प्रयास गर्न पनि तयार रहेको उनको भनाइ थियो । कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सदस्यहरु वासुदेव त्रिपाठी, टीकाराम सापकोटा, पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष चिरन्जीवी पोख्रेल, महासचिव सञ्जयकान्त सिग्देल, उपाध्यक्ष्य कृष्ण भण्डारी, नरेश भट्टराई, धर्म पन्थी, कृष्ण आचार्य, हरेराम अधिकारी लगायतले बोलेका थिए । उनीहरुले सरकारलाई पोखराबाट छिटोभन्दा छिटो नियमित अन्तर्राष्ट्रिय उडान गर्ने नीति र वातावरण बनाउन आग्रह गरे ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको एक वर्ष पूरा हुँदासम्म यहाँबाट चार्टर वाहेकको अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । जसका कारण नेपाल नागरिक उड्डयन प्राधिकरणले यसबाट घाटा खेप्नु परेको छ । चिनियाँ सहयोगमा बनेको विमानस्थलमा उडानका लागि भारतले चासो देखिएको छैन । सरकारले यसमा खासै चासो देखाएको पनि पाइएको छैन ।

