ढोरपाटनमा सुरु भयो सिकार याम

-


     मर्दी न्युज    
     चैत्र १७ गते २०८१ मा प्रकाशित


फाइल तस्विर

ढोरपाटन (बागलुङ) । बागलुङ-ढोरपाटन सिकार आरक्षमा यस वर्षको दोस्रो सिकारयाम सुरु भएको छ । विदेशी सिकारी नाउर तथा झारलको सिकार गर्न आरक्ष आउन थालेका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले १० वटा नाउर र तीनवटा झारलको सिकारका लागि अनुमति दिएको छ । नेपाल वाइल्ड लाइफ सफारी, हिमालयन सफारी प्रालि, ग्लोबल सफारी प्रालि र ट्र्याक एन्ड टे«ल्र्स प्रालिले सिकार खेलाउने छन् । बोलपत्र आह्वानका क्रममा भएको प्रतिस्पर्धाले यस याममा सिकारको दर बढेकोे छ । एउटा झारल सिकार गरेबापत रु १३ लाख पाँच हजार राजस्व सरकारलाई बुझाउन सिकार एजेन्सी तयार भएका छन् ।

नाउर सिकारको दर भने बढीमा रु आठ लाख ७५ कायम भएको ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । “झारल सिकारको दर अहिलेसम्मकै बढी हो,” उनले भने ।  महँगो रकम तिरेर झारल सिकार अनुमति लिएका हिमालयन सफारी र ट्र्याक एन्ड टे«ल्सले यसै साता सिकार खेलाउने तयारी गरेका छन् ।

हिमालयन सफारीले आरक्षको फागुने ‘ब्लक’मा एउटा र ट्र्याक एन्ड टे«ल्सले घुस्तुङ ‘ब्लक’मा दुईवटा झारलको सिकार गराउने अधिकृत बरालले बताउनुभयो । विदेशी सिकारी आरक्ष पुग्ने क्रम सुरु भएको छ । आउँदो वैशाखको दोस्रो सातासम्म सिकार चल्नेछ । सिकारका लागि यस वर्ष अमेरिका, रुस, स्पेन, फ्रान्सलगायत देशका सिकारी ढोरपाटन पुग्दैछन् ।

सबैजसो सिकारी हेलिकप्टरमार्फत आरक्ष पुगेर सिकार खेल्ने गरेका बरालले बताए ।

एउटा सिकारीले वन्यजन्तुको सिकारमा रु २५ लाखदेखि रु ३० लाखसम्म खर्च गर्ने गरेका छन् । आरक्षको फागुने, वार्षे, सेङ, दोगाडी, घुस्तुङ र सुनदह ब्लकमा सिकार खेलिनेछ । निकै कम सिकारी पुग्ने सुनदह ब्लकमा यस याममा ग्लोबल सफारीले नाउरको सिकार गराउने भएको छ ।

अन्यको तुलनामा सुनदह अत्यन्तै विकट क्षेत्रमा रहेको र बढी खर्चिलो भएका कारण सिकारीलाई त्यहाँ पुग्न कठिनाइ हुन्छ । आरक्ष कार्यालयका अनुसार नेपाल वाइल्ड लाइफ सफारीले एक रुसी, एक स्पेनी र एक फ्रान्सेली सिकारीलाई सेङ र फागुने ब्लकमा सिकार गराउनेछ ।

हिमालयन सफारीले झारलसहित एक नाउर, ट्र्याक एन्ड टे«ल्र्सले दुई झारलसहित दुई नाउर, नेपाल वाइल्ड लाइफ सफारीले तीनवटा नाउर र ग्लोबल सफारीले चारवटा नाउरको सिकार गराउने अनुमति पाएको छ । नाउर र झारलको सिकार अनुमतिबाट रु एक करोड १३ लाख ८५ हजार राजस्व सङ्कलन भएको छ । यस वर्षको पहिलो सिकारयाम (असोज–मङ्सिर)मा रु ३३ लाख ६८ हजार राजस्व जम्मा भएको छ । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको रोजाइमा पर्ने गरेको छ । रासस