
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ ।
पोखरा विमानस्थलमा चीनको ल्हासाबाट आएको हिमालय एयरलाइन्सको जहाज अवतरण गरेको छ । यससँगै हिमालय एयरलाइन्स पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान थाल्ने पहिलो वायुसेवा कम्पनी समेत बनेको छ ।
यो जहाजमा १ सय ७ यात्रु पोखरा अवतरण गरेका छन् । यसमध्ये ३२ चिनियाँ र ७५ नेपाली नागरिक आएका छन् । ल्हासाबाट आएका यात्रुलाई नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगर प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे लगायतले स्वागत गरेका थिए। पोखरा विमानस्थल सञ्चालनमा आएपछि अहिलेसम्म १३ वटा अन्तर्राष्ट्रिय चार्टर उडान भइसकेका छन्, तर नियमित उडान हिमालय एयरलाइन्सले पहिलोपटक थालेको हो।
यसैबीच, केही दिन अघि मात्रै छेन्दु–पोखरा चार्टर उडानसमेत सञ्चालनमा आएको छ। चिनियाँ पर्यटकलाई लक्षित गर्दै गरिएको यो उडानले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने अपेक्षा गरिएको छ। चीनबाट पोखरासम्मको हवाई सम्पर्क विस्तार भएसँगै पर्यटक आगमनमा वृद्धि हुने विश्वास गरिएको छ।
जहाज आज पोखरामै बसेर भोलि ल्हासाका लागि उड्ने छ । हिमालयले पोखरा-ल्हासा रुटमा सातामा एक नियमित उडान गर्ने गरी उडान थालेको छ । यात्रु संख्या बढेसँगै यसलाई विस्तार गरिने कम्पनीको भनाइ छ ।
पोखरामा यसअघि चार्टर र नियमित चार्टर उडान भइरहेका थिए ।