
पोखरा । नयाँ वर्ष २०८३ को अवसरमा मंगलबार पोखराको महेन्द्रपुलस्थित अन्तर्राष्ट्रिय झण्डापार्कमा झन्डा झन्डोत्तोलन गरिएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नेपालको राष्ट्रिय झन्डा फहराएका हुन् ।
सो अवसरमा नगर प्रमुख आचार्यले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समृद्ध राष्ट्र निर्माणको अभियानमा एकताबद्ध भएर लाग्न आग्रह समेत गरेका थिए । नगर प्रमुख आचार्यले सहकार्य, समझदारी र साझा सपना बोकेर अगाडि बढ्न सबैलाई आह्वान गरे ।
पोखरा महानगरपालिका–९ महेन्द्रपुलस्थित सेती नदी किनारमा निर्माण गरिएको अन्तर्राष्ट्रिय झण्डा पार्क २०८० वैशाख १ गते शिलान्यास भई २०८० साल फागुन ७ गते उद्घाटन गरिएको हो ।
पोखरालाई थप आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, विश्वका विभिन्न देशका झण्डालाई एकै स्थानमा प्रदर्शन गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने र शैक्षिक अवलोकनस्थलका रूपमा विकास गर्ने उद्देश्यसहित निर्माण गरिएको उक्त पार्कमा संयुक्त राष्ट्रसंघमा आबद्ध १ सय ९३ देशका झण्डा राखिएका छन् ।
पोखरा महानगरपालिका र लायन्स क्लब इन्टरनेशनलको सहकार्यमा निर्माण गरिएको यस पार्कले पर्यटकलाई आफ्नै देशको झण्डामुनि फोटो खिच्ने अवसर प्रदान गर्नुका साथै अन्तर्राष्ट्रिय पहिचान झल्काउने नयाँ आकर्षण बनेको छ ।

