हावाहुरीले विद्यालयको छानो उडायो, म्याग्दीका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित

-


     मर्दी न्युज    
     वैशाख १६ गते २०८३ मा प्रकाशित


म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका-१ गुर्जास्थित एक विद्यालय भवनको छाना हावाहुरीका कारण उड्दा पठनपाठनमा अवरोध उत्पन्न भएको छ।

जनकल्याण माध्यमिक विद्यालयको कक्षा कोठा भवनमा जडान गरिएको जस्तापाताको छाना हुरीले उडाएपछि कार्यालय, पुस्तकालय, स्मार्टबोर्ड र विज्ञान प्रयोगशालासहितको संरचना प्रभावित बनेको हो। विद्यालय प्रशासनका अनुसार भवनमा रहेका कागजातसमेत हावाहुरीले क्षति पुर्‍याएको छ।

प्रधानाध्यापक न्याउली छन्त्यालका अनुसार कक्षा १० सम्म अध्ययन हुने उक्त विद्यालयमा करिब दुई सय विद्यार्थी अध्ययनरत छन्। छाना क्षतिग्रस्त भएपछि कक्षा सञ्चालनका लागि पर्याप्त कोठा अभाव भएको उनले जानकारी दिए।

यसैबीच, अन्नपूर्ण गाउँपालिकाको शिख र घार क्षेत्रमा परेको असिनापानीले हिउँदे तथा बर्खे बालीमा क्षति पुर्‍याएको छ। असिनापछि आएको बाढीका कारण सडक, खानेपानी तथा सिँचाइ पूर्वाधारमा समेत असर परेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताएका छन्।

भुरुङ-तातोपानी, दाना, नारच्याङ, शिख, घार र हिस्तान क्षेत्रको जनजीवन हावाहुरी, वर्षा र असिनाका कारण प्रभावित बनेको स्थानीय तहले जनाएको छ।